चलचित्र ‘लज्जावती’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया
साउन १५ गते रिलिज भएको चलचित्र ‘लज्जावती’ को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ। प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढावलाई प्रस्तुत गरिएको ट्रेलर यतिबेला मुभी ट्रेण्डिङ्ग चार्टमा २१ नम्बरमा रहेको छ। दुई प्रेम जोडीको कथा टिजरमा रहेको छ। चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन् ।

सुरुवातमा निकै रमाइलो देखिने उनीहरूको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ ।
राजबहादुर सानेको निर्देशनमा तयार भएको चलचित्र साउन २९ गतेबाट प्रदर्शनमा आउंदैछ। चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन्।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।





