विदेशी बजारमा ‘बेहुली’, कुन कुन देशमा कहिले हुँदैछ रिलिज ?
भदौ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बेहुली’ को अन्तराष्ट्रिय प्रदर्शन अधिकार विक्री सुरु भएको छ । चलचित्रको पहिलो गीतले नै चर्चा पाएसंगै यसको वैदेशिक माग बढेको छ। अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत जस्ता नेपाली चलचित्रका प्रमुख विदेशी बजारहरूमा चलचित्रको वितरण अधिकार बिक्री भएको छ। अस्ट्रेलियाको प्रदर्शन अधिकार ‘आशिष् एन्ड नमस्ते इन्टरटेन्मेन्ट’ ले खरिद गरेको छ। त्यहाँ भदौ २६ मा चलचित्र रिलिज हुनेछ।

त्यसै गरी, अमेरिका र क्यानडा (उत्तर अमेरिका) का लागि चलचित्रको वितरण अधिकार ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’ले लिएको छ भने दुबई, कतार र बहराइन लगायतका मध्यपूर्वका देशहरूको वितरण जिम्मा ‘साथीभाइ इन्टरटेन्मेन्ट’ ले पाएको छ। अस्ट्रेलिया र उत्तर अमेरिकासँगै मध्यपूर्वमा पनि चलचित्र भदौ २६ मै प्रदर्शनमा आउनेछ। बेलायत (युके) को लागि भने प्रदर्शन अधिकार ‘९७७ इभेन्ट्स’ ले खरिद गरेको छ। बेलायतमा भने चलचित्र असोज १६ गते रिलिज हुने छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसै गरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।





