हलीको प्रचार अभियान : पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटो भरिभराउ
साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘हली’ को प्रचारप्रसारलाई व्यापक पारिएको छ। निर्माण टिमले उपत्यका बाहिर पनि प्रचारप्रसारलाई व्यापक बनाएको हो। चलचित्रको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी लगायत जिल्लापछि निर्माण टिम पश्चिम पुगेको छ। अहिले पश्चिम जिल्ला दाङ,नेपालगञ्ज,धनगढीमा पनि निर्माण टिमले हलीको प्रचारप्रसारलाई तिब्रता दिएका छन्। त्यहाँ रहेका यातायातका सवारीसाधन अटो,ई–रिक्सा लगायतमा हलीको पोस्टरले ढाकिएको देख्न सकिन्छ। सयौँ रिक्साले आफ्नो दायाँबाया तथा पछाडी हलीको पोस्टर बोकेर दौडिरहेको देख्न सकिन्छ।

चलचित्रका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले प्रचारप्रसारलाई व्यापक पारिरहेको बताए। दुवै जनाले दर्शकमाझ आफ्नो चलचित्र प्रदर्शनमा आउन लागेको जानकारी दिन यसरी प्रचारप्रसारलाई अगाडि बढाएको सुनाए।
पूजाले भनिन्,‘अहिले चलचित्रको प्रचारप्रसार कसरी गर्न सकिन्छ भन्ने हो। दर्शकमाझ चलचित्रको प्रचारप्रसार नगरे त दर्शक कसरी हलमा आउने। साउन २२ गते लाग्दैछ भन्नका लागि पनि हामीले सकेजति दर्शकमाझ पुर्याउने कोसिस गरिरहेका छौँ।’

चलचित्रलाई ओम प्रतीकले निर्देशन गरेका हुन्। लगानी निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको छ। छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुव्र्यवहारलाई मुख्य विषयवस्तुमा चलचित्र निर्माण भएको छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ।





