‘म मदनकृष्ण’ मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ मा हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री अनुबन्ध भएका छन्। मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । अरुणले अब ‘म मदनकृष्ण’सँगै यही टीमले सिरिजकै रूपमा निमार्ण गर्नै हरिवंश अचार्यको बायोपिक चलचित्रका लागि पनि एकैपटक साइन गरेका हुन् ।

“हामीले म मदनकृष्णमा हरिवंशको रोलमा अरुणलाई लिएका छौँ । यो सँगै एकैपटक अब हरिवंश आचार्यको जीवन कथामा बन्ने बायोपिकमा पनि हरिवंश दाइको भूमिकामा अरुणलाई साइन गराएका छौँ,” मिलनले भने, “हामी सशक्त अभिनय गर्ने कलाकारको खोजी गर्दै जाने क्रममा अरुणसम्म पुगेका हौँ । उहाँलाई हरिवंशको भूमिकामा पक्कै पनि सबैले मन पराउनु हुनेछ भन्ने लागेको छ ।”

बायोपिक ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह लगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्