दयाहाङ राईको ‘पेन्सन पट्टा’ टिजर सार्वजनिक


माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ को टिजर सार्वजनिक भएको छ। भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ।

‘पेन्सन पट्टा’ मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङको अभिनय रहेको छ। चलचित्रले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।

सार्वजनिक टिजरले आफ्ना दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको नभई कहिल्यै नसुनेको र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाममा भएको र उनको नाम थाहा नहुँदा परेको सकसको सेरोफेरोमा चलचित्रले आफ्नो कथा प्रस्तुत गर्ने देखाएको छ ।

यसअघि नै चलचित्रको विदेश प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको छ। प्रचार सामग्री सार्वजनिक हुनुअघि नै बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भएको खबर सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्