‘झिंगे दाउ २’ टिजरलाई १० लाख बढी भ्यूज
चलचित्र ‘झिंगे दाउ २’ को टिजरले दर्शकको राम्रो साथ पाएको छ। सामाजिक संजालमा टीजरले व्यापक शेयर र सकारात्मक प्रतिक्रिया पाएको छ। रिलिज भएको ४ दिनमा नै युट्युवमा १० लाख बढी भ्युज पाएको छ। सामाजिक संजाल फेसबुक र टिकटकमा मात्र यसको टिजरलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । टिजरमा समावेश नायिकाद्धय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्य सामाजिक संजालमा फैलिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा जेठानी–देउरानीको झगडा, दाजुभाइको कलह र आमाको छटपटीलाई प्रस्तुत गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण फिल्म वृत्तमा हुन थालेको छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताको रुपमा छन् ।





