घरेलु हिंसा र नारी संवेदनाको कथा बोकेको ‘अक्षरा’को टिजर रिलिज
चलचित्र ‘अक्षरा’ को टिजर सार्वजनिक भएको छ। विनयराज पौडेलको निर्देशनमा तयार भएको चलचित्रको टीजरले विवाहित महिलाले भोगेको घरेलु हिँसाको कथालाई उठान गरेको छ।
टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथालाई प्रस्तुत गरिएको छ। केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धनसम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिनेक परिणाम माथि टिजर केन्द्रित छ। सुशील सिटौला र न्यान्सी खड्का श्रीमान श्रीमतीको भुमिकामा देखिएका छन्।

रक्सीको लतमा मातेर श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो पारिवारिक धाक देखाउने चरित्रमा सिटौला प्रस्तुत भएका छन्। श्रीमानको कुटाई खाएपछि माइती पुगेकी छोरीले बुबासामु व्यक्त गरेको मार्मिक संवाद टिजरको मुख्य आकर्षण बनेको छ। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा ‘ढुङ्गाना’ हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन्। चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।
चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेलका साथै अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्। चलचित्र भदौ २६ गतेबाट रिलिज हुँदैछ।





