‘म मदनबहादुर’ मा बर्षा राउत, अरुण संग जोडी
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’ मा अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । चलचित्रमा उनी हरिवंश आचार्यकि श्रीमती रमिला आचार्यको भुमिकामा देखिनेछिन्। हरिवंशको भुमिकामा अभिनेता अरुण क्षेत्री देखिदैछन्। अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।

“हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ । निर्माण टिमले वर्षालाई अरुणको अपोजिटमा साइन गराउँदा उहाँले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,” निर्देशक मिलन चाम्सले भने ।
हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहनेछिन् । किनकी अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।
म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।





