‘मायालु’ कबिरको जोडी बन्दै आकृति


चलचित्र ‘मायालु’ मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्ध भएकी छिन्। प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको मुख्य भूमिकामा आकृति अनुबन्ध भएको निर्माण टीमले जानकारी दिएको हो। सुरुमा ‘मेरो अधुरो प्रेम’ राखिएको चलचित्रको नयाँ नाम सहित काम अगाडी निर्माण टिमले बढाएको छ। निर्देशक पौडेलले यस अगाडी चलचित्र ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । आकृतिले यस अगाडी चलचित्र’ मुक्तिपुर’ मा अभिनय गरेकी थिइन्। यो चलचित्र पनि प्रदर्शनमा आउन बाँकी रहेको छ।

नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकी मोडलसमेत हुन् । ‘मायालु’मा उनी मुख्य भूमिकामा देखिनेछिन् । चलचित्रमा मुख्य अभिनेताको रुपमा कबीर खड्का अनुबन्ध भैसकेका छन्। त्रिकोणात्मक प्रेम कथामा आधारित हुने चलचित्रमा अर्की अभिनेत्रीको खोजि निर्माण टिमले गरिरहेको छ। निर्देशक पौडेलकै कथा रहेको चलचित्रको पटकथा अनिल कुर्मीको रहनेछ ।

चलचित्रका मुख्य कलाकार बाहेक अन्य पात्रहरू अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशक पौडेलले बताए । चलचित्रको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ । अस्ट्रेलियाबाट नै चलचित्रको छायांकन सुरु हुनेछ ।

साउनमा छायांकन सुरु गर्ने तयारी गरिएको भए पनि कलाकारहरूको भिसा प्रक्रियाका कारण छायांकन समयमै सुरु हुन सकेन । अब भने दशैंपछि छायांकन सुरु गर्ने तयारी भइरहेको निर्देशक पौडेलले बताए । चलचित्रमा शरद महतोले छायांकन गर्नेछन् ।

सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा सुरेन्द्र रावलको लगानी रहनेछ । चलचित्रका सह-निर्माता विवेक पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्