भोटेकोशी बाढीको प्रभाव: चलचित्रका रिलिज क्यालेन्डर फेरबदल
देश यतिबेला शोकमा छ । बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। हजारौ मानिस हराएको अनुमान छ। यसको प्रत्यक्ष असर मनोरन्जन क्षेत्रमा देखिएको छ। मनोरन्जनका सार्वजनिक कार्यक्रम देखि चलचित्रका रिलिज क्यालेन्डरमा समेत परिवर्तन हुन् थालेका छन्। भदौ महिनामा नेपाली चलचित्रको रिलिजका मिति फेरबदल हुन् थालेका छन्। भदौ १९ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘ककाकिकी’ ले आफ्नो प्रदर्शन स्थगित गरेको छ। अव यो चलचित्र मङ्सिर ११ मा आउने भएको छ।

शुक्रबार निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिकी प्रमुख श्रद्धा प्रसाईंले एक विज्ञप्ति जारी गर्दै चलचित्रको प्रदर्शन मिति फेरबदल भएको जानकारी दिएकी हुन्।
‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।
त्यस्तै भदौ २६ गतेबाट प्रदर्शन तय गरिएको चलचित्र ‘माया भनेकै यस्तो होला’ ले पनि आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । अव चलचित्र कार्तिक २० गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। रेखा थापाको निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, श्रिस्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ , उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ।








