चलचित्र ‘ आ बाट आमा २’ को फस्ट लुक सार्वजनिक


दशैँमा रिलिज तयारीमा रहेको चलचित्र ‘ आ बाट आमा २’ को फस्ट लुक सार्वजनिक भएको छ। “चर्किएको यो घरले फेरि सोध्यो…’यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?? ” स्लोगन सहित फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार पहिलो झलक सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड,आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले समेटिएको छ। पोस्टरको पृष्ठभूमिमा रहेका फुटेका सिसा र पुराना तस्बिरहरूले भत्किएको परिवार र छिन्नभिन्न भएका यादहरूलाई सङ्केत गर्छन्। एक तस्विरमा आमा बुबा प्रदीप रावत र विपना थापा अँगालो हालेर रोइरहेको दृश्यमाथी उडिरहेको हवाइजहाजको तस्बिरले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाहरूको कथा बोल्छ। अर्को टुक्रामा मुख्य कलाकार पल शाह,साइग्रेस पोखरेलको तस्बिरले विगतका मीठा सम्झनाहरू दिलाउँछन्।

पोस्टरको एउटा फोटोमा पल र साइग्रेसलाई खुशी मुन्द्रामा देखिन्छन् भने सोही पोस्टरको मुनी रहेको अर्को पोस्टरमा निधारमा रातो टीका र जमरा लगाएर बसेका दुई युवाहरू (पल र साइग्रेस) लाई आमाले अँगालो हालेर रोइरहेकी छन्। उनको निधारमा टीका र जमरा छैन। अनुहारमा उत्सवको उत्साह होइन, बरु थकाइ र विवशता झल्किन्छ। पोस्टरको एक कुनामा लिङ्गे पिङ र रौनकतामा रमाइरहेका गाउँलेहरूसँग पल शाहको परिवार देखिन्छन्। उनीहरु दशैँको माहोलमा जमरा र टीका लगाएर पिङ खेलिरहेका छन्। जहाँ आमा विपना थापा पिङ खेलिरहेकी छन् भने उनलाई पल शाहले हल्लाई रहेका छन्। साथै पछाडी मधुर मुस्कानमा उनका श्रीमान प्रदीप रावत देखिन्छिन् भने पिङमा समातेर आकाश श्रेष्ठ,साइग्रेस,गजित बिष्ट नीकिता आचार्य मुस्कान सहित हाँसिरहेका छन्। बीचको एक पोस्टरमा भने चाडपर्वको समयमा विपना थापा र साइग्रेस खुशी मुन्द्रामा देखिदा प्रदीप र पल अलिक भावुक देखिन्छन्। साइडको एउटा पोस्टरमा भने पल आमा बुबासँग रमाइरहेको ब्लाक एण्ड ह्वाइट फोटोसँगै रिस्ता गुरुङको कलरफुल फोटो राखिएको छ।

चलचित्रमा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ। आगामी असोज ३० गते फूलपातीको अघिल्लो दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा पनि उनकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्