असोज ३१ मा आउने भयो ‘छ माया छपक्कै २, पहिलो झलकमा दिपकसंग केकी र सनिशा
यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलकसंगै चलचित्रको रिलिज मिति समेत निर्माण टिमले सार्वजनिक गरेको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोष्टर सहित चलचित्र अव असोज ३१ गते फूलपातीको दिनबाट रिलिज हुनेछ। दशैँ रिलिज बताईए पनि कुन दिनबाट चलचित्र रिलिज हुने यस अगाडी खुलाईएको थिएन । अव भने चलचित्र असोज ३१ गतेबाट रिलिज हुने पक्का भएको छ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य तीन कलाकारलाई प्रस्ततु गरिएको छ । अभिनेता दिपकराज गिरि, अभिनेत्रीहरु केकी अधिकारी र सनिशा भट्टराई पोष्टरमा प्रस्तुत रहेका छन्। पोष्टरमा केन्द्रमा दिपक बाँसुरी बजाउदै दुई गर्भवती केकी र सनिशासंग रहेका छन् यसले चलचित्रको कथा सम्बन्ध, परिवार र वैवाहिक जीवनमा आउने उतारचढाव वरिपरि घुम्ने संकेत गर्छ। कमेडी शैलीमा समाजका विषयलाई गहन रुपमा उठाउनु र सन्देश प्रस्तूत गर्नु दिपकराज गिरिका चलचित्रका प्रमुख पाटो हुन्।
रोहित अधिकारी र दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रको पहिलो भाग सुपरहिट रहेको थियो। उक्त चलचित्रले पानीको समस्यालाई गहन रुपमा प्रस्तुत गरेको थियो । अव यो चलचित्रको पहिलो झलकमा उत्पन्न भएको दुई गर्भवती महिला र उनीहरुको दिपकसंग के सम्बन्ध छ भन्ने रहस्य असोज ३१ पछि खुल्दै जानेछ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमई इन्टरटेनमेनन्टको संयुक्त प्रस्तुतीमा तयार भएको चलचित्रमा निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्।






