झरनाले पशुपतिबाट सुरु गरिन् ‘ए मेरो हजुर ५’ को छायांकन


निर्देशक झरना थापाले चलचित्र ‘ए मरो हजुर ५’को छायांकन पशुपतिबाट सुरु गरेकी छिन् । २५ दिनको सेड्युलसहित शुक्रबार बाट चलचित्रको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक थापाले बताइन् ।

यसअघि गत साउन २९ गते चलचित्रको निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो । जहाँ उनीहरूले चलचित्रको केही सिन छायांकन गरेका थिए । त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो ।

तर बाजुराका केही स्थानमा सुट गरे पनि आज पशुपतिबाट चलचित्रको नियमित छायांकन थालिएको निर्देशक थापाले स्पष्ट पारिन् । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिने छन् ।

अभिनेता अनमोल र अभिनेत्री सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । अनमोल र सुहानासहित चलचित्रमा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाल लगायत कलाकारको अभिनय रहनेछ ।

‘ए मेरो हजुर’ को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी छन् । उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन । नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउने चलचित्रका निर्माता सुनिल कुमार थापा हुन्।

प्रतिक्रिया दिनुहोस्