मनोरन्जन र इमोशनको प्याकेज ‘चमलेकी पोई’ ट्रेलर


चलचित्र ‘चमेलीको पोई’ को ट्रेलर रिलिज भएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। मायाप्रेम,आसक्ति,दाम्पत्य जीवनमा आउने उतावचढाव,बिश्वास,घात र मानवीय सम्बन्धका कथाहरु समेटिएको ट्रेलर हास्यरस बाट सुरु हुँदै भावनात्मक रुपमा अन्त्य गरिएको छ। असोज १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र विशुद्ध मनोरञ्जनात्मक भएको निर्देशक बोहोराले जानकारी दिएका छन्।

करिब १८ बर्षको अन्तरालपछि यही चलचित्रबाट ठूलो पर्दामा पुनरागमन गरेका चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीले ‘चमेलीको पोइ’ बाट आफू निकै आशावादी भएको बताए । उनले अमेरिकामा आयोजीत बिशेष शोहरुबाट दर्शकको अपार माया र साथ पाएकाले आफू अझ उत्साहीत भएको सुनाए । ‘अमेरिकामा रहे पछि म नेपाली चलचित्रमा पुनरागमन गर्न चाहन्थें । बीचमा आफै चलचित्र निर्माण गर्ने कोसिस पनि गरेको थिएँ । तर परिस्थितिले साथ दिएन,’ उनले भने,‘अहिले यो चलचित्रबाट पुनः दर्शकमाझ आउदैछु । यो मेरो अहोभाग्य हो । म पहिलाजस्तै चलचित्र अभिनयमा निरन्तर हुन चाहन्छु ।’

चलचित्रमा मुकुन भुषाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम,उमेश राई (फुलन्देकी आमा),अंशु महर्जन, बाबिन राई, तारा शर्मा,खड्गबहादुर पुन (खबपु),रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी,श्रेया नारायण लगायतको अभिनय छ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता, कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी,सुमीत्रा थापा र कपिल आचार्य छन्।

प्रतिक्रिया दिनुहोस्