‘ल्याङ्ग ल्याङ्ग’ को छायांकन सुरु


बलिराम चौहानको निर्देशनमा निर्माण हुने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरेका हुन् । चलचित्रको बुधबार काठमाडौंको लाजिम्पाटदेखि छायांकन सुरु गर्ने निर्देशक चौहानले बताए । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । चलचित्रको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’ र एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् ।

चलचित्रले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढाव प्रस्तुत गर्ने निर्देशक चौहानले बताए । ‘चलचित्रले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ’, उनले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं ।’

चलचित्रको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा भोलानाथ कटुवालको लगानीमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्