बिराज–समीरको एक्सनमा ‘१२ गाउँ २’ टिजर
चलचित्र ‘१२ गाउँ २’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको टिजरमा एक्सन, अपहरण, उद्धार र बदलाको कथालाई प्राथमिकतामा राखिएको छ ।

टिजरमा अभिनेता तथा निर्देशक बिराज भट्ट र समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बिराज र समीरलाई केन्द्रमा राखेर तयार गरेको टिजरमा उनीहरूको फाइट, द्वन्द्व र एक्सन दृश्यले चलचित्रप्रति उत्सुकता बढाउने छ । अनुपविक्रम शाहीलाई भिलेनको भूमिकामा प्रस्तुत गरिएको छ । टिजरमा उनको चरित्रलाई समेत प्रभावशाली र चुनौतीपूर्ण देखाइएको छ ।
‘१२ गाउँ २’ बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलको रहेको छ । सरस्वती भट्ट निर्माता रहेको चलचित्र आगामी असोज ३० गते, दशैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ ।
चलचित्रमा बिराज भट्ट, समीर भट्ट र कृशु शाही ,अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
यसै चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।








