‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक


यस बर्षको प्रतिक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । कालीप्रसाद बास्कोटाको शब्द, स्वर र संगीत रहेको गीत कर्णप्रिय बनेको छ। सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युबमार्फत ‘थाक खोला’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको प्रेम र सम्बन्धको भावनात्मक पाटोलाई देखाइएको छ। तीन जना पात्रसङ्ग काजीका सम्बन्धका दृश्यले चलचित्र प्रति झन् कौतुहलता बढाउने पक्का देखिन्छ।

थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्यले भिडियोमा प्राण भरेको छ। यस अगाडी सार्वजनिक टिजरले दर्शकमा एक प्रकारको कौतुहलता बढिसकेको बेलामा गीतले झन् बढी उर्जा थपेको छ।

चलचित्र दशैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ ‘एलजी’ ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्