‘सस्पेन्स–थ्रिलर मनपर्ने दर्शकलाई ‘टनेल २६’ अवश्य मनपर्छ’ – अनुपविक्रम शाही
यहि असोज २३ गते शुक्रबारबाट चलचित्र ‘टनेल २६’ रिलिज हुँदैछ । नेपाल, भुटान र भरातको सहकार्यमा निर्माण भएको चलचित्र जोम्बी कथामा आधारित रहेको छ। बहुसंख्यक भुटानी कलाकार लिएर भुटानमा नै छायांकन गरिएको चलचित्रमा नेपालबाट अनुप विक्रम शाही र आना शर्माले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

यतिबेला चलचित्रको प्रचारका लागि भुटानमा रहेका अनुपले ‘टनेल २६’मार्फत दर्शकलाई फरक कथा पस्किने प्रयास गरेको बताए । उनले भने, ‘हामीले यसमा बिल्कुलै भिन्न कथा ल्याएका छौँ । यो जोम्बी विधामा बनेको चलचित्र हो । नेपाली उद्योगमा पहिलो पटक जोम्बी चलचित्र बनाउने प्रयास गरेका छौं । सस्पेन्स–थ्रिलर मनपर्ने दर्शकलाई यो चलचित्र अवश्य मनपर्छ ।’
उनले ४० दिनसम्म एउटै लुगामा चलचित्रको छायांकन गरेको पनि स्मरण गरे । ‘चलचित्रभरि हामी सबै कलाकारले एउटै लुगा लगाएका छौं । किनकि, यो टनेलभित्रको कथा हो । हप्ता दिनसम्म हामी टेनलभित्रै थुनिएका हुन्छौं । त्यो बेला अर्को लुगा लगाउने भन्ने कुरै हुँदैन,’ उनले भने । भुटानमा ४० दिनसम्म छायांकन गर्दा आफ्नै देशजस्तो अनुभव भएको पनि उनले बताए ।
डीडी किन्लेले लेखन तथा निर्देशनमा बनेको चलचित्रमा अनुपसहित आना शर्मा, सांगे सेल्ट्रिम, रोशिनी दादा, निदुप दोर्जी, फुन्त्सोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्त्सो, किनराब, चेन्चो लामा, केजाङ काजलगायतका कलाकारहरूको अभिनय रहेको छ ।










