‘छ माया छपक्कै २’ को दोश्रो गीत ‘मायामा एक्सपयारी डेट हुदैन’ सार्वजनिक
यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’ को दोश्रो गीत ‘मायामा एक्सपयारी डेट हुदैन’ सार्वजनिक भएको छ। सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापामा शब्द र दिपक शर्माको संगीत रहेको छ। रोमान्टिक शैलीको गीत रहेको भिडियोमा चलचित्रका प्रमुख तीन कलाकार दिपकराज गिरि, केकी अधिकारी र सनिशा भट्टराई फिचर रहेका छन्।

गीतको भिडियोमा श्रीमान श्रीमतीको भूमिकामा रहेका दिपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता थपेको छ। किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन् । गीतले त्रिकोणात्मक प्रेमको संकेत गर्दछ तर सप्राइज दिन माहिर दिपकको टिमले कस्तो कथा बोलेको छ त्यो भने असोज ३१ गते फूलपातीपछि थाह हुनेछ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमीको संयुक्त प्रस्तुती रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन्।
निर्देशक लामा र दिपकराज गिरिको कथा रहेको चलचित्रको स्क्रिन्प्ले र डाइलग दिपकराज गिरिले तयार पारेका छन्। चलचित्रमा दिपाश्री निरौला सल्लाहकारको रुपमा रहेकी छिन्। चलचित्रमा दिपक, केकी र सनिशाको साथमा कर्मा, रिहान गिरि, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्।










