चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलरलाई दर्शकको साथ
यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले हिजो सार्वजनिक गरेको ट्रेलरले दर्शकमा उत्सुकता थपेको छ। परिपक्क बन्ने कोसिसमा रहेका काजी, ढल्कदो उमेर र तीन मैयाको प्रवेशले चलचित्रको ट्रेलरमा रोचकता थपेको छ। साथमा विपिन कार्कीको प्रवेशले दर्शकलाई आकर्षित गर्ने पक्का रहेको छ।

ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ । नयाँ व्यवसाय सुरु गरेपछि कथामा झन् ठूलो ट्विस्ट आउँछ, जहाँ सृजना गुरुङले निभाएको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको देखाइएको छ ।
यसका साथै काजीको टोली, र गाउँमा छिरेको बिपिन कार्कीको रैथाने गुन्डा समूहबीच हुने टक्कर, एक्सन र कमेडी शैलीका कारण ट्रेलर निकै धमाकेदार बनेको छ । साथै ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकलाई थप कौतुहलता पैदा गर्ने देखिन्छ ।
कार्तिक ६ गतेबाट रिलिज हुने चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा राम बाबु गुरुङ्गको निर्देशन, गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।








