एक्सन प्याक्ले भरिएको ‘१२ गाउँ २’ ट्रेलर
पहिलो सिरिजको सफलतासंगै चर्चामा रहेको यो बर्षको प्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ। एक्सनप्रधान चलचित्रका माहिर अभिनेता मानिएका विराज भट्टको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा विराज र समिर भट्टका एक्सन प्याक दृश्यहरु समावेश गरिएको छ। सार्वजनिक ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।

चलचित्रमा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् । नेपाली चलचित्रमा नकारात्मक भूमिकामार्फत प्रभाव छाड्न सफल शाहीको उपस्थितिले नायकहरूको संघर्षलाई थप रोचक बनाउने अपेक्षा गर्न सकिन्छ । विराज र समीरको टकरावसँगै खलपात्रको उपस्थिति चलचित्रको द्वन्द्वलाई कसरी अगाडि बढाउने आधार बन्नेछ भन्ने चासो दर्शकमाझ हुने देख्निछ ।
चलचित्रमा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । कृशु शाही (काफिया) र वर्षा इटनी यहि चलचित्र मार्फत नेपाली रजतपटमा डेव्यु गर्दैछन्।
‘१२ गाउँ २’को निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ। चलचित्रको छायाङ्कन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत छ । ‘१२ गाउँ २’ दशैंको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।








