पोस्टर होइन, भिडियोमार्फत कलाकार सार्वजनिक गर्दै ‘द प्रोफेसनल गाइज’ टिम
चलचित्र ‘द प्रोफेसनल गाइज’ को निर्माण घोषणा भएको केही समय भइसकेको छ। जे.के.एस. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रका निर्देशकलाई केही समयअघि सार्वजनिक गरिएको थियो। कलाकारको नाम गोप्य राख्दै घोषणा गरिएको चलचित्रका मुख्य पाँच कलाकारको नाम निर्माण टिमले सार्वजनिक गरेको छ।

चलचित्रमा अमन श्रेष्ठ, बासना तिमिल्सिना, शिशिर शिवाकोटी, जीवन बस्नेत र प्रवेश महतारा क्षेत्री मुख्य भूमिकामा देखिनेछन्।
त्यस्तै, चलचित्रमा गोविन्द सुनार, भारत बारबरिक, सुरज पराजुली, रश्मि उप्रेती, सुशान्त डंगोल, विजय रोय, अबिन ठटाल, आशिष सौदागर, झान कुमार श्रेष्ठ, बिपन कार्की, मुन्ना शाह र राजु नन्दीलगायत कलाकारको अभिनय रहनेछ। बाल कलाकारतर्फ रागन मानन्धर, एन्जेल मानन्धर, सृजन श्रेष्ठ, सिमरन श्रेष्ठ तथा अभिलाषा मानन्धर रहेका छन्।
निर्माण टिमले कलाकार अनुबन्धको जानकारी दिने शैलीलाई पनि रोचक बनाएको छ। प्रायः चलचित्रमा कलाकार अनुबन्ध भएको जानकारी पोस्टरमार्फत सार्वजनिक गर्ने गरिए पनि यस चलचित्रको टिमले भने कलाकारका रोचक भिडियो सार्वजनिक गर्दै अनुबन्धबारे जानकारी गराइरहेको छ। यसैक्रममा पहिलो भिडियो अभिनेता अमन श्रेष्ठको सार्वजनिक गरिएको छ। अन्य कलाकारका भिडियो पनि हरेक दिन सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
यसअघि चलचित्रको शीर्षक घोषणा तथा ‘MAD’ को सिर्जनात्मक यात्रासम्बन्धी सामग्रीसमेत निर्माण टिमले फरक र रोचक शैलीमा सार्वजनिक गरेको थियो।
चलचित्रमा अस्मिता अधिकारी, बिराज गौतम तथा बियोन्डको स्वरमा रहेका गीत सुन्न पाइनेछ। त्यस्तै, चलचित्रको शीर्ष र्याप गीत बियोन्ड तथा Keru On Fleek ले प्रस्तुत गर्नेछन्। ब्याकग्राउन्ड म्युजिक Ness Studio अन्तर्गत ब्रिजेश श्रेष्ठ र बियोन्डले तयार गर्नेछन्।
चलचित्रका गीतका भिडियोमा राहुल शाहले कोरियोग्राफी गर्नेछन्। डार्विन श्रेष्ठ छायांकन निर्देशक रहेका छन् भने सिनेमाटोग्राफीमा डार्विन श्रेष्ठ, सुबन गुरुङ, विजय रोय तथा अमृत चौहान रहनेछन्। चलचित्रको सम्पादन तथा कलरिङ अनन्त घिमिरेले गर्नेछन् भने भिएफएक्स तथा एनिमेसनको जिम्मेवारी डार्विन श्रेष्ठले सम्हाल्नेछन्।








