चलचित्र ‘जार’ को ‘ए ठुली’ गीतमा पवन र झुमाको स्वर


भदौ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जार’ को गीत सार्वजनिक भएको छ । ‘ए ठूली’ बोलको गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर हर्क साउदको शब्द र संगीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ । लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ । उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसंग गीतमा उल्लेख छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापा लगायत कलाकार फिचर्ड छन् । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ ।

‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा चलचित्र निर्माण भएको छ। फूर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको चलचित्र फेरि टेल पिक्चर्सले निर्माण गरेको हो। चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा लगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

प्रतिक्रिया दिनुहोस्