सिक्किममा आज ‘जार’ को प्रिमियर, सिलगुडी र दार्जिलिङ्ग पुग्दै टिम
वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को आज गान्तोक सिक्किममा हुँदै छ । यो प्रिमियरमा सहभागी हुन् चलचित्रको कलाकार सहितको टिम मंगलबार सिक्किम पुगेको छ। निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र गायिका तथा संगीतकार झुमा लिम्बुसहितको टिम सिक्किम पुगेको हो।

चलचित्र, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थितिमा भव्य प्रिमियरको आयोजना गरिएको निर्देशक लामाले बताए । सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । स्थानीय दर्शक तथा शुभचिन्तकहरूसँग सँगै चलचित्र हेरेर कलाकार तथा निर्माण टिमले प्रतिक्रिया समेत लिनेछ, भने दार्जिलिङमा पनि चलचित्रको प्रचारात्मक कार्यक्रम तय छ ।
यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । चलचित्रमा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।