भदौमा ‘जनै हराएको बाहुन’ रिलिज तय


हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार चलचित्रको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो । सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ ।

सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । दुब्लोपातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । किनकी नेपालमा ठूलो हवाइजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व हो ।

यो चलचित्र आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फर्ष्ट लुकमा देखाउने प्रयास गरिएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको चलचित्रले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्