किन फेरियो चलचित्र ‘जनै हराएको बाहुन’ को नाम ?


चलचित्र ‘जनै हराएको बाहुन’ को नाम परिवर्तन भएको छ। निर्माण टिमले चलचित्रको नाम ‘जनै हराएको मान्छे’ राखेको छ। जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ । निर्माण पक्षले चलचित्रका मुख्य पात्र विजय वरालको क्यारेक्टर पोष्टर पनि सार्वजनिक गरेको छ।

रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ । उनको निन्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।

विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो । पोष्ट प्रोडक्सनमा रहेको चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो । आमा र छोराबीचको भावनात्मक कथा भन्ने चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका छन्। यो चलचित्रका असोसियट निर्देशकमा अभिनेता मनिष राउत छन् ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटाको , रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्