‘म सबैसँग सहज रुपमा खुल्न सक्दिन्’- आशिफ शाह
अभिनेता आशिफ शाहले चलचित्रमा अभिनय नगरेको धेरै बर्ष बिति सक्यो। लामो समयको पर्खाइपछि उनि चलचित्र ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदैछन् । त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले चलचित्रमा भने निकै कम गरेका छन् । ‘मिसन पैसा’ मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा मुख्य अभिनेताको रुपमा काम गरेका छन् । उनले ‘कर्कश’ नामक चलचित्रको निर्देशन पनि गरेका थिए ।
म्युजिक भिडियो निर्देशकको रुपमा परिचय बनाएका आशिफले ‘जन्ते बाख्रो’ आफ्नो स्वभावसँग मिल्दोजुल्दो भएकाले अफर भएको बताए ।

‘चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दै हुनहुन्छ र बन्दै छ भन्ने मैले थाहाँ पाएको थिएँ । किनकि हाम्रो सर्कल लगभ एउटै छ । निर्देशकले मेरो पात्रको बारेमा सुनाउँदै यो कसलाई सुहाउँला भनेर एक जना मेकअप आर्टिस्टलाई सोध्नु भएछ । उहाँले आशिफ दाईलाई सुहाउला भनेपछि निर्देशकले ढुक्क भएर मलाई अफर गर्नुभएको रहेछ,’ आशिफले भने ।
निर्देशक सिमोसले पनि उक्त पात्रमा आशिफलाई देखेका रहेछन् । तर, आफ्नो सोचाई अरुसँग मिल्छ की मिल्दैन भनेर जाँच गरेको बताए । उनले भने,’हाम्रो साथीभाई र काम गर्ने साथीभाई उस्तै उस्तै छन् । त्यसैले मैले आशिफलाई अफर गर्नु अगाडि अरुबारे कन्फर्म गरेको थिएँ । मैले काठमाडौँ बाहिर हुँदा नै फोन मार्फत क्यारेक्टरको बारेमा जानकारी दिएर चलचित्र गर्नुपर्छ भनेको थिएँ ।’
चलचित्र अफर भएपछि आशिफले उत्साहित भएको स्मरण गरे । विशेषत चलचित्रमा सौगात मल्ल छन् भन्ने कुराले उनलाई उत्साहित बनाएको थियो । उनी टेलिभिजन भन्दा बाहिर चलचित्रमा आफ्नो कमाल देखाउन चाहन्थे । सार्वजनिक चलचित्रको गीत र ट्रेलरमार्फत उनले राम्रो प्रतिक्रिया पाएका छन् । उनको क्यारेक्टरको स्वभाव आफूसँग मिल्ने महसुस गरेका छन् ।
‘म सबैसँग सहज रुपमा खुल्न सक्दिन्, तर एउटा साथी सर्कल छ, जहाँ म खुल्न सक्छु । त्यहि सर्कलमा निर्देशक सिमोश हुनहुन्छ । उहाँले त्यसकारण पनि मलाई ‘जन्ते बाख्रो’ को भूमिका अफर गरेको हुनसक्छ । यो मेरो एउटा फरक रुप दर्शकसम्म आउँदैछ,’ आशिफले भने ।
उनले चलचित्रको ट्रेलरमा बोकेर हिड्ने डोरी, चलचित्रमा देखिने बाख्रो पनि कथासँग जोडिएको छ । टेलिभिजन र म्युजिक भिडियोमा लामो समय काम गरिसकेका आशिफ अब चलचित्रमा आफूलाई भिन्न भिन्न तरिकाले प्रस्तुत गर्न चाहन्छन् । यसपटक सौगातसँग काम गर्दा उनले अभिनयका नयाँ आयामसँग परिचित हुने मौका पाएँ ।
‘मेरो पात्रको भावनालाई बाहिर ल्याउन पनि सौगातले मद्दत गरेका छन् । उनले सिकाएको शैलीले हामीलाई पात्रलाई जीवन्त बनाउन मदत गरेको छ । यो चलचित्रको काम गराई मेरा लागि अभिनय शिक्षा जस्तो पनि भयो । म सौगातबाट अभिनयमा शिक्षित भएको महसूस गरेको छु । उनको प्रभाव मेरो आगामी काममा देखिन्छ,’ उनले भने ।
चलचित्रमा आशिफसँगै सौगात मल्ल, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र जेठ २३ गतेबाट एकसाथ प्रदर्शनमा आउनेछ ।