भ्याक्सिनको पर्खाईमा रहेको नेपाली चलचित्र क्षेत्र, को बन्ला संजीवनी बुटी ?


दर्शकले हलमा गएर राम्रोसंग नेपाली चलचित्र नहेरेको कै भयो राम्रोसंग सोच्ने बेला नै भैसक्यो। पछिल्लो पटक आमा चलचित्रलाई हो दर्शकले थोरै आशालाग्दो पाराले हेरेको। त्यो पछीको लगातारको कोरोना कहर, लकडाउनले सिनेमा क्षेत्रलाई तहसनहस नै पार्यो। सवैभन्दा कम चासोको क्षेत्रमा परिरहेको चलचित्र क्षेत्र यसै पनि उति विकसित भैनसकेको अवस्थामा कोरोनाले विचलित बनाईदियो। कोरोनापछी हलमा रिलिज भएका नेपाली चलचित्र दर्शकले रिलिज भएको न थाह नै पाए न हेर्न नै पुगे। कोरोनाको डरले हेर्न पुगेनन् भनौ भने रिलिज भएका बलिउड, हलिउड र अन्य चलचित्रलाई दर्शकले उच्च साथ दिएका छन्। सुर्यवंशी, पुष्पा, स्पाइडर म्यान लगायतका चलचित्रले लगातार हाउसफुल व्यापार गरिरहेका छन्।

यस्तो बेलामा कोरोनाको डर चलचित्र दर्शकमा छ भन्ने बहाना हास्यास्पद लाग्नेछ। दर्शकका रोजाईका कलाकारका चलचित्र रिलिज नहुनु एउटा कारण हुनसक्छ तर कस्ता सिनेमा रिलिज भैरहेका छन् भन्ने कुराले दर्शकलाई निकै ठुलो प्रभाव पर्ने गर्दछ। युट्युबमा मात्रै दक्षिण भारतीय चलचित्र हेरिरहेका दर्शकले अल्लु अर्जुनको ‘पुष्पा’ दिएको साथ यसको उदाहरण हो। लगातार हाउसफुल प्रदर्शन चलचित्रले गरिरहेको छ।

यहि कोरोना कहर र लकडाउनको बेलामा नेपाली दर्शकले डिजिटल माध्यममा यति धेरै चलचित्र हेरिसके की उही पुरानै शैलीका नेपाली चलचित्र दर्शकका लागी बकवास लाग्न थालिसके। यसको अर्थ यो पनि हैन की नेपाली चलचित्रलाई दर्शकले मन पराउने छाडीसके। कथा र शैली पुराना भएका हैनन्, भन्ने शैली दर्शकले नरुचाएका मात्र हुन्।

पछिल्लो महिना दिनमा मात्र दर्जन बढी नेपाली चलचित्र रिलिज भए, युट्युवमा। ती सवै चलचित्र राम्रो भ्युजका साथमा दर्शकको राम्रो प्रतिक्रिया पनि बटुलिरहेका छन्। केहि बाहेक सवै चलचित्र हलमा फ्लप थिए। तर युट्युवमा राम्रो प्रतिक्रियाका साथ भ्युज बटुलिरहेका छन्।
यसअर्थमा पनि नेपाली चलचित्रका दर्शक नै छैनन् भन्ने हैन तर हलसम्म ती दर्शकलाई तान्ने माध्यम भने हामी पत्ता लगाउन सकिरहेका छैनौ।
दर्शकसम्म चलचित्रको बारेमा राम्रो प्रचार पुग्न नसक्नु र कथा भन्ने शैलीमा वदलाव हुन नसकेको हो यो बिषयमा भने निकै सोचनीय रहेको छ।
अवको नयाँ यात्रा कस्तो तय गर्ने भन्ने बिषयमा नेपाली चलचित्र निर्माता र निर्देशक निकै सोचनीय हुनुपर्ने देखिन्छ। रिलिज तयारीमा रहेका सिनेमा दर्शकमाझ कसरि पुर्याउने र कस्तो प्रचार गरेर आकर्षित गर्ने भन्ने बिषय पनि सोच्नु पर्ने देखिन्छ। अनि चलचित्र क्षेत्र भित्र जालो लागेर बसेको राजनीतिको खेल पनि बन्द हुनुपर्ने देखिन्छ। नेपाली चलचित्र क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा अझ चलचित्रकर्मीले सोच्ने बेला आएको छ।

प्रतिक्रिया दिनुहोस्