‘प्रकाश’ की सीताको अनुभूति,’ गरिरहेको काम प्रती इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो।’


नेपाली चलचित्र क्षेत्रमा सशक्त अभिनय गर्ने कलाकारको रुपमा परिचित छिन्, दिया मास्के । चरित्रलाई जीवन्तता दिएर चित्रमा उतार्न सक्ने अभिनेत्रीको रुपमा परिचित दिया अभिनित चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्रमा उनको साथमा प्रदिप खड्का मुख्य भूमिकामा रहेका छन् । दर्शकका लागी निकै प्रतिक्षित रहेको चलचित्रको पोष्टर दियाले शेयर गरेकी छिन् । सार्वजनिक पोष्टर निकै आकर्षक रहेको छ र दर्शकप्रति कौतुहलता झनै बढेको छ ।

जुम्लाको एक विपन्न महिलाको भूमिकामा रहेकी दिया सिता पात्र मार्फत पर्दामा आउनेछिन् । उनले फेसबुकमा पोष्टर शेयर गर्दै चलचित्र अभिनय र पात्रसंगका आफ्ना अनुभूति शेयर गरेकी छिन् ।

दिया लेख्छिन्, ‘चलचित्रमा साहित्य चेत बढे संगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ। महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, ‘चलचित्र न्यारेटिभ’को अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। दिया बाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु,रहनसहन सङ्ग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस भएन । गरिरहेको काम प्रती इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो भन्ने मलाई लाग्छ। आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महशुस गर्दैछु , यो सिता प्रतिको मेरो लगाव र गर्व दुवै हो।


कथा छनौट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिलेकाहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतीत हुन्छ। हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ। प्रकाश को टिज़र हेरेर मलाई धेरै ले मिठो प्रतिक्रिया दिनु भएको छ। सिनेमामा आफ्नो काम लाई लिएर अहिले बोल्नु अलि हतारो होला। मात्र यति भन्छु – समय बदलिएको छ। र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिका द्वारा सिनेमा लाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरु लाई सिनेमा आख्यान मा स्थापित गर्न थलिएको महसुस गरेको छु । ‘ उनले नेपाली चलचित्रमा कलाकार बन्नका लागी राम्रो समय आएको समेत उल्लेख गरेकी छिन् ।

दिनेश राउतको निर्देशन, विकास सुवेदीको कथामा बनेको चलचित्रमा प्रदिप खड्का, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्