अरुण र सिम्रनको मनछुने अभिनयमा ‘गौंथली’ टीजर


साउन १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गौंथली’ को टीजर सार्वजनिक भएको छ। चलचित्रको कथासार प्रस्तुत गर्ने टिजर निकै भावुक छ। आफ्नी छोरीको घर बसाउन आमाले गरेको कोसिस र छोरीले घरमा भोगेको पीडाको कथा टीजरमा प्रस्तुत गरिएको छ। फरक व्यवहार र शारीरिक अवस्थामा रहेका श्रीमान र उनको व्यवहारले श्रीमतीमा परेको असरको कथा टीजरले बोलेको छ।

श्रीमानको भूमिकामा अरुण क्षेत्री छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन् । असामान्य अरुणको व्यवाहार र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको कथाले दर्शकलाई भावुक बनाउने अपेक्षा निर्माण टिमले गरेको छ।

डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्