चलचित्र ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक


चलचित्र ‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ। टिजरको केन्द्रमा बा अर्थात् दिव्य देव पन्त रहेका छन्। उनका संवाद र दृश्यहरु भावनात्मक देखिएका छन्।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै टिजर सुरुवात भएको छ। दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ ।

दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन् । जसले उनको सुन्दर परिवार देखाउँछ । त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति । बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी र परिवारका अन्य सदस्य, गाउँले आत्तिँदै कुदेको दृश्यले परिवारमा घटेको ठूलो महाविपत्ति देखाउँछ ।

टिजरले एउटा सुन्दर परिवार कसरी तहसनहस भइरहेको छ भन्ने देखाएको छ । तर, त्यसको कारण के हो भन्ने खुलाएको छैन । चलचित्र भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

चलचित्रमा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् ।

प्रतिक्रिया दिनुहोस्