क्यानडामा राजनराजलाई भ्याई नभ्याई


काठमाडौँ ।  गायक तथा सङ्गीतकार राजनराज सिवाकोटी यत्तिखेर क्यानडाका विभिन्न सहरहरूमा सांस्कृतिक प्रस्तुतिमा व्यस्त हुनुहुन्छ । 

नयाँ वर्षको कार्यक्रमका लागि गत डिसेम्बर १५ मा हिन्दु बुद्धिस्ट फाउन्डेसन क्यानडाको निमन्त्रणमा क्यानडा पुग्नुभएका सिवाकोटीलाई यत्तिखेर क्यानडाका विभिन्न सहरमा हुने साङ्गीतिक कार्यक्रममा भ्याइ नभ्याई छ ।

 कुटुमा कुटु, सुर्के थैली खै,फुल बुट्टे सारी लगायतका चर्चित गीतका गायक सिवाकोटी क्यानडामा रहेका नेपालीहरूबाट पाएको मायाले भावविभोर भएको बताउनुहुन्छ । क्यानडामा रहेका हरेक नेपालीले आफ्ना सन्तानले नेपाली गीत सङ्गीत, भाषा र धर्म नभुलुन् भन्ने भावनामा रहेको उहाँले बताउनुभयो । 

यहाँ आएका सबै नेपालीका छोराछोरी अङ्ग्रेजी स्कुलमा पढ्ने भए पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू सन्तानले नेपाली कला संस्कृति, भेसभुसा र धर्म नभुलोस् भनेर लालायित हुँदा रहेछन् उहाँले बताउनुभयो । ‘हरेक कार्यक्रममा आफूहरूसँगै  बालबच्चा लिएर आउने  र सबै प्रस्तुती नछुटाई हेर्नु हुँदो रहेछ यो देख्दा मलाई परदेश भित्रको मेरो देशले लोभ्यायो, सिवाकोटीले भावुक हुँदै भन्नुभयो ।

 आफु छोटो समयका लागि क्यानडा आएको भएपनि यहाँ पाएको मायाका कारण बसाई केही लम्मिने उहाँले बताउनुभयो । जता ततैबाट बोलाइरहनुभएको छ, प्रस्तुती हेर्न पनि नेपालीहरू झुम्मिनु मात्र भएको देख्छु, त्यसैले केही समय क्यानडामै जम्ने विचारमा छु, उहाँले भन्नुभयो । 

क्यानडाका विभिन्न सहरमा पुगी नेपालीहरूलाई लाइभ म्युजिकको मज्जा दिइरहनुभएका सिवाकोटीले जनवरी २२ मा हुने भुट्निज नेपाली कम्युनिटीको सांस्कृतिक कार्यक्रमलाई नछुटाई हेरिदिनुहुन क्यानडाका नेपालीहरूलाई आग्रहसमेत गर्नुभयो ।  वास्तवमा नेपाली हुनु र नेपाली पनको आनन्द क्यानडामा भएका नेपालीहरूले दिएकोप्रति उहाँले धन्यवाद  ज्ञापन गर्नुभयो । ‘हामीलाई हाम्रो संस्कृति, कला र सङ्गीतले भूगोलबाट जति टाढा भएपनि तान्दो रहेछ, भाषा, संस्कृति र कलाले सात समुन्द्र पार पनि आफ्नो पन खोज्दो रहेछ, हाम्रो कर्मथलो जति टाढा भए पनि नेपालीको मन मस्तिष्कमा देशप्रतिको माया, भाषा संस्कृति प्रतिको गर्व रहेछ, यो सबै देख्दा मलाई नेपाली हुनुमा गर्व छ’ सिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्