ग्याङ्ग लिडर अनमोलको लडाई , फागुन १९ मा तीन ग्याङ्गको भीडिन्तमा ‘छड्के २’


नायक अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ फागुन १९ गतेबाट रिलिज हुदैछ। पहिलोपटक ग्याङ्गस्टारको भूमिकामा देखिएका अनमोलले सार्वजनिक लुक्सले मिश्रित प्रतिक्रिया बटुलिरहेको छ। टिजर रिलिज पछी यतिबेला टिम ट्रेलर रिलिजको तयारीमा जुटेको छ।

चलचित्रले बिशेष गरि तीन ग्याङ्गको कथा बोल्छ। एक ग्याङ्गका लिडर अनमोल रहेका छन्। तीन ग्याङ्ग रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङ को एउतै उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु रहेको छ। ग्रीन ग्याङलाई अनमोल केसीले सम्हालेका छन्। यी तीन ग्याङ्गको लडाई वरिपरि ‘छड्के २’ घुमेको छ। पहिलोपटक नयाँ लुक्समा देखिएका कारण पनि अनमोललाई हेर्न एउटा वर्ग प्रतिक्षित रहेको छ। उनको फरक प्रस्तुती कस्तो रहनेछ भनेर हेर्न चलचित्र नगरीले पनि चासो लिइरहेको छ।

यार्सागुम्वाको तस्करीमा कसले बाजी मर्ने हो यसको वरिपरि चलचित्रको कथा घुमेको छ। देशको हरेक प्राकृतिक श्रोतका लागी स्थानियस्तरमा हुने झगडा र उनीहरुलाई कसले संरक्षण गरिरहेको हुन्छ भन्ने कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन्। निगमले नै चलचित्रको कथा लेखेका हुन्। रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलान लगायतको अभिनय रहेको चलचित्र निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो। प्रशान्त गिरी र देवकुमार श्रेष्ठ चलचित्रको निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्