आत्महत्या रोकथामको विषय नम्रता र दयाहाङको ‘वरदान’


नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ बिहीबार दर्शकमाझ आएको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘वरदान’ गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ ।

२०७६ सालको ‘जायरा’पछि नम्रताले अभिनय गरेको फिल्म यही ‘वरदान’ हो । विषयवस्तु चित्त बुझेर आफूले यस फिल्ममा काम गरेको नम्रता बताउँछिन् । आत्महत्या रोकथामको विषयलाई उठाएको फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश पनि दिन्छ ।

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या वृद्धि भइरहेको छ । आत्महत्या दर घटाउनका लागि सरोकारवाला सरकारी निकायहरु र विभिन्न संस्थाले थुप्रै कार्यक्रम आयोजना गर्दै आएका छन् । यस्तो अवस्थामा ‘वरदान’ फिल्म बन्नुलाई नम्रता निकै नै सकारात्मक पक्ष मान्छिन् ।
‘डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु,’ नम्रताले भनिन्, ‘समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरुलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ ।’

कोभिड-१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू ‘वरदान’को कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए । लकडाउनकै कारण फिल्म ‘दुई नम्बरी’को सुटिङ रोकेर बसेका लामाले भने, ‘अत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदानको कामलाई अगाडि बढाएँ ।’

दुईजनाको मात्र जीवन जोगाउन सकेँ भने पनि त्यसलाई आफ्नो कामको सफलता ठान्ने पक्षमा उनी छन् । आफ्नो उद्देश्यमा सघाउन तयार भइदिएकामा उनी फिल्मका कलाकार, प्राविधिक र निर्माण कम्पनी शुभ मिडिया होमप्रति आभार व्यक्त गर्छन् ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङ राई यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाउँछन् । नम्रताको उपस्थितिले फिल्मको सन्देशलाई अझ गम्भीर र प्रभावकारी बनाएको उनी तर्क गर्छन् । ‘फिल्ममा नम्रताको नै केन्द्रिय भूमिका छ, उनलाई सघाउन पाएकोमा म खुसी छु,’ दयाहाङले भने ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’मा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्