‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा


चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेपछि यसको निर्माणपक्षले सिक्वेलको घोषणा गरेको छ । चलचित्र निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबिच चलचित्रको सिक्वेल बनाउने बिषयमा सहमति भएको हो । ‘अ पोलिटिकल कमब्याक अर्थात एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको सिक्वेलमा दयाहाङ राइले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ ।

‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौं, उहाँहरुले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ,’ निर्माता कडरियाले भने, ‘हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौं । अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं ।’

चलचित्रका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्–‘अहिले चलचित्रको कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो हुनपुग्यो र हामीले दुई भागमै बनाउने सोच्यौं ।’

दोस्रो भागको कथामा के हुन्छ त ? भन्ने प्रश्नमा निर्देशक लामाले भने–‘गाउँमा जरीको आतंकबाट गाउँलेहरु वाक्क हुन्छन् । र, जरीबाट पीडित गाउँलेहरु काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन् । पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ ।’

निर्माता कडरियाका अनुसार ‘नाङ्गो गाउँ–२’ को छायांकन तत्काल होइन एक वर्षपछि मात्र हुनेछ । त्यसअघि उनले निर्देशक लामालाई नै लिएर अर्को कमेडी चलचित्र बनाउने तयारी गरेका छन् । चलचित्र ‘नाङ्गो गाउँ’बाट म सन्तुष्ट छु, त्यही भएर मैले दीपेन्द्रजी सँगको सहकार्यलाई निरन्तरता दिन लागेको हुँ,’ निर्माता कडरियाले भने ।

तिहारपछि छायांकनमा जाने नाम जुराउन बाँकी उक्त कमेडी चलचित्रमा दीपेन्द्र लामाकै लेखन रहनेछ । यसमा ‘नाङ्गो गाउँ’कै टिम दोहोरिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्