हिन्दी चलचित्रमा प्रदिप खड्का, ‘ऐरी’ पहिलो लुक्समा शिकारी अवतार


अभिनेता प्रदिप खड्का हिन्दी चलचित्रमा देखिने पक्का भएको छ। जीवन दाहालको निर्देशनमा तयार हुने चलचित्र ‘ऐरी’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको हो। मंगलबार मोसन पोस्टर र टिजरमार्फत् चलचित्रको औपचारिक घोषणा गरिएको हो। ‘प्रेमगीत ३’ को हिन्दी भर्सन स्वरांकन र रिलिजको समय देखि नै बलिउड यात्रा उनको हुने चर्चा सुरु भएको थियो। सार्वजनिक पोष्टरमा प्रदिप शिकारी अवतारमा देखिएका छन्।

पृष्ठभूमिमा बाघ राखिएको पोष्टरमा प्रदिप शिरमा फेटा र खुकुरी राखेर लामो कपाल पालेको लुक्समा देखिएका छन्। हिन्दी सहित अंग्रेजी, तमिल र नेपाली भाषामा निर्माण हुने चलचित्रलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले संयुक्त रुपमा निर्माण गर्नेछन् । सुवासले चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई निर्माण गरेका थिए।

प्रायः कलाकार र प्राविधिकहरु नेपालकै रहने चलचित्रलाई नेपालमा नै खिचिनेछ। फागुनपछि छायांकन हुने चलचित्रलाई २०२४ मा रिलिज गर्ने तयारी निर्माण टीमको रहेको छ। चलचित्रमा बलिउडका स्थापित कलाकारलाई राख्ने कसरतमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्