‘चित्रा’ निर्देशक लामिछाने: ‘ पर्दामा कथा कहिले नमरोस् भन्ने कामना गर्छु ‘


नेपाली फिल्ममा फरक कथा वाचनका लागी निर्देशक घनश्याम लामिछाने अब्बल मानिन्छन् । उनै लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘चित्रा’ रिलिजको तयारीमा रहेको छ। कथालाई दृश्य निर्माण गरेर कथा भन्ने बाचकलाई निर्देशकको रुपमा परिभाषित गर्छन् लामिछाने। कथालाई पर्दामा रुपान्तरण गर्ने यात्रा उति नै कठिन रहेको छ । उनको चाहना सँधै कथा पर्दामा नमरोस् भन्ने हुन्छ।

घनश्याम अर्को निर्देशकमा के खोज्छन् होला?

भन्छन्- प्रिजेन्टेसनलाई हेर्छु, कति डिटेल र गहिराइमा पुगेर विषयबस्तुको प्रस्तुति दिएको छ भनेर हेर्छु।

पुस २७ गते उनी निर्देशित ‘चित्रा’ रिलिज हुँदैछ। उनी अहिले पोस्टप्रोडक्सनमा व्यस्त छन्। पुराना निर्देशकहरुमा शिव रेग्मीका फ्यान हुन उनी भने नयाँमा आफ्नो सहायक भएर काम गरेका परिच्छेद सेनको कामबाट प्रभावित छन्। उनलाई सेनको प्रस्तुति मनपर्छ। निर्देशकमा आफ्नो स्टाइल हुनुपर्छ भन्ने उनको खरो मान्यता छ। अनि उनलाई लाग्छ निर्देशकले दिने स्टाइल कथाले निर्धारण गर्छ। त्यही भएर उनी निर्देशन गर्दा पहिला कथा हेर्छन् र त्यसले माग गर्ने स्टाइलमा फिल्म बनाउँने गर्छन्।

‘चित्रा’को कथाले पनि उनलाई फरक स्टाइलमा उनलाई कथा भन्न प्रेरित गर्‍यो।

त्यसैले उनले यथार्थको नजिक रहेर अघिल्ला फिल्महरु बनाएको भएपनि यसपटक यथार्थ र लार्जर देन लाइफको फ्यूजन आफ्नो स्टाइल मिलाएका छन्।

चित्राले देखाउने कथा के हो त?

भन्छन्- हामीले धेरै कथाहरु देखासिकी गरेर देखायौं। अरुले भनेका कथाहरु भन्यौं, कथा भएनन् भनेर खोज्दै पनि हिँड्यौं तर हामीले घरसमाजमै रहेका कथाहरुलाई भनेनौं । प्रस्तुतिमा त प्रभावित भयौं-भयौं कथा छनौट गर्दा पनि प्रभावित बन्यौं। हामी त्यसबाट पर रहँदै ‘चित्रा’मा हामीले बाबु र छोरीको आफ्नो कथा भनेका छौं ।’

थप व्याख्या गर्दै उनी थप्छन्- हाम्रा धेरै फिल्म सामान्य प्लटहरुमा मात्र आधारित रहे। जस्तो किडन्याप देखाउनु छ भने कि गर्लफ्रेण्डलाई देखायौं कि श्रीमतीलाई। जे गरेको हुन्छ सँधै केटा पात्र मात्रले यसकिसिमका कामहरु गरेको देखाउने । त्यस्तै हामी मायाप्रेमका प्रसंगहरुबाट पर जान नै सकेनौं। यसमा पनि प्रेम त छ तर परिवारभित्रको बाबुछोरीको प्रेमको कहानी छ, स्नेहको कहानी छ, वात्सलयको। यसको कथा सबैको जीवनमा घटेन होला तर सबैले आफूलाई यसमा जोड्नसक्नुहुन्छ, अपनवत्व महशुस गर्नसक्नुहुन्छ। यो सबैले भोगेको नभएपनि देखेको कथा हो । यसको कथ्य शैली फरक महशुस हुन्छ।’

लामिछानेले यो ‘चित्रा’को कथा यथार्थ परक रहेपनि प्रस्तुतिका हिसाबले मनोरञ्जनात्मक रहेको दाबी गर्छन्।

उनले भने- मेरा यसअघिका फिल्म भन्दा यो फरक छ। अघिल्ला फिल्म समाज नजिक रहेर ऐना बन्ने प्रयास गरेको थिएं भने यसमा मैले प्रस्तुतिमा लार्जर देन लाइफ शैलीलाई समातेको छु र फिल्म मनोरञ्जान्त्मक बनाउने कोशिस गरेको छु। सुरुको फस्ट हाफ यथार्थसँग नजिक लाग्छ भने दोश्रो हाफ अलिकति नाटकिय मोड लिदैं लार्जर देन लाइफ जस्तो पनि। मोर्डन मेकिङ देख्न सक्नुहुन्छ।’

अघिल्ला फिल्महरुमा यथार्थको नजिक रहेर काम गर्दा कथा केहि सुस्त गतिको र सरल भएपनि यसपटक यथार्थलाई नबिर्सी श्रृंगारपटार गरेर बनाएको बताए।

दर्शकलाई धेरैकुरामा रुवाउनेधुवाउने भन्दा पनि हसाउने, रमाइलो दिने, मनोरञ्जन दिने काम गरेको छु, यसमा बाबुछोरीको इमोसन त छँदै छ। दर्शकले मनोरञ्जन खोज्ने विषय भएकाले फिल्म आफ्नो विषय अनुसारको बनाएको छु’, उनले भने ।

सायद उनी मनोरञ्जन फिल्ममा दर्शकको रुचि ज्यादा भएको देखेर पनि यसतर्फ लालायित भएको हुनुपर्छ।

मूलधारको फिल्ममा आएदेखि नै उनले कलाकारचाँहि वजनदार नै छान्ने गरेका छन्। जुन यसमा पनि जारी छ, यध्यपी उनले मूल अभिनेतामा भने सन्तोष अधिकारीलाई डेब्यू गराएका छन्। उनी आफ्ना सबै कलाकारको कामबाट खुशी छन्।

तर सबैभन्दा खुशीचाँहि उनलाई आफ्नो यो फिल्मकी बाल कलाकार आयुशी ढकालले दिइन्। आयुशीको कामबाट धेरै प्रभावित बनेको उनले खुलाए।

‘फिल्ममा अरु ठूला कलाकारहरु त हुनुहुन्छ नै तर ६-७ वर्षको नानीबाट यस किसिमको अभिनय आएको छ कि जुन व्यवसायिक कलाकारबाट पनि हम्मेसी पाउन मुश्किल पर्छ’, उनले भने।
डेब्यू अभिनेताका रुपमा सन्तोष अधिकारीको कामले पनि उनी प्रभावित बनेका छन्। फिल्ममा काम गरेका प्रमोद अग्रहरि, अर्पण थापा,मेनुका प्रधान, प्रकाश घिमिरे आदिका बारेमा अभिनय कस्तो गर्नुभयो भनेर थप व्याख्या दिन उनी आवश्यक ठान्दैनन् ।

किनकी उनीहरुको काम दर्शकमाझ जगजाहेर छ।

सानैदेखि लामिछानेको रुचि कलाकारितातीर थियो। साथीले वि सं २०५१ सालमा नाटकमा कलाकार हुँदै निर्देशनमा एसिसटेन्ट बनाएपछि सुरु भएको उनको यो यात्रा फिल्मको निर्देशनसम्म आइपुगेको हो।

२०५७ सालमा साथीभाइले नाटकमात्र किन गर्ने २ दिन देखाएपछि सकिन्छ अब फिल्म बनाऔं तैंले सक्छस् भनेर हौस्याएपछि सुरु भयो।

उनले त्यतिबेला ‘प्रेम मिलन’ नामको डिजिटल फिल्म बनाएर निर्देशनमा डेब्यू गरे। गुरुङ साथीहरुले ‘रोधी’ नामक गुरुङ फिल्मको जिम्मा पनि ६० सालमा उनैलाई दिए। उनले त्यसपछि अर्को गुरुङ फिल्म ‘च्यागीं’ निर्देशन गरे। ७० सालमा ‘धौली’ फिल्मबाट भने उनी मूलधारे फिल्ममा प्रवेश गरे।

यतिबेलासम्म उनी पोखरा दुई उच्च माविमा अंग्रेजीको प्राध्यापन गराउँथे। उनी अंग्रेजीका मास्टर थिए। फिल्म निर्देशनमा उनलाई आफ्नो पढाइले पनि रुचिजस्तै साथ थियो। अंग्रेजी साहित्य फराकिलो अध्ययन आफ्ना लागि प्लस पोइन्ट भएको उनको बुझाइ छ। ‘धौली’पछि भने उनले प्राध्यापन पेसालाई किनारा गर्दै आफूलाई ‘फूलटाइम’ फिल्म लाइनमा होमेका छन्।
उनका पछिल्ला फिल्महरु ‘धौली’ तथा ‘पञ्जेबाजा’बाट उनले आफूलाई केही गर्नसक्ने निर्देशकको कोटीमा राखिसकेका छन्।

पुस २७ गते ‘चित्र’ रिलिज हुँदैछ। फिल्मबाट उनी राम्रै आशाबादी देखिएका छन्। उनको अर्को एक फिल्मको तयारीमा छन् जसका बारेमा पछि खुलाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्