‘दयारानी’ को अकुपेन्सी ८० प्रतिशतमाथि, शो थपिदै


शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ ले शुक्रबार दिउँसो र शनिबारबाट अकुपेन्सी बढाएको छ। चलचित्रले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ । चलचित्रका वितरक प्रचण्डमान श्रेष्ठले मोफसलका हलहरुमा बिहानैदेखि उत्साहजनक अकुपेन्सी देखिएको बताए ।

‘पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ। धरानमा शो थपिएको छ भने इटहरीमा चलचित्रले राम्रो गरिरहेको चलचित्रको टिमले बताएको छ। उनले राजधानीका हलहरुमा पनि मध्यान्हदेखि ५० प्रतिशतमाथि अकुपेन्सी रहेको र सन्ध्याकालिन शोहरु हाउसफूल हुने क्रममा रहेको बताए ।


आफूमा बाबु बन्ने क्षमता नभएको तथ्य लुकाउँदा श्रीमती र परिवारको दबाबामा दोश्रो विवाह गर्नुपर्ने बाध्यतामा पुगेको पात्रको कथा बोकेको चलचित्रलाई माओत्से गुरुङ्गले निर्देशन गरेका छन्।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई र दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्