फ्राइडे रिलिजमा तीन नेपाली चलचित्र



महाशिवारात्री तथा नारी दिवसको अवसर पारेर तीन नेपाली चलचित्र रिलिज भएका छन्। त्रिपक्षीय भिडन्तमा ‘उपहार’ , ‘रङ्गेली’ र ‘काँडेतार’ रहेका छन्।

ज्ञानेन्द्र देउजा निर्देशित उपहारको केन्द्रिय भूमिकामा तीन अभिनेत्री रहेका छन्। रेखा थापा, पूजा शर्मा र बेनिशा हमालले लिड गरेको चलचित्रको कथावस्तु र प्रस्तुतीले प्रिमियरमा प्रसंसा बटुलेको थियो। तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्याय लगायतको अभिनय चलचित्रमा रहेको छ। रेखा थापा पांच बर्षपछि अभिनय र निर्माणमा होमिएको चलचित्र रेखा फिल्म्स र कपनगढी फिल्म्सको व्यानरमा निर्माण भएको छ।

ग्याङ्गस्टारको कथामा निर्माण भएको चलचित्र ‘रङ्गेली’ लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्। दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, , प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा लगायतको अभिनय रहेको चलचित्र तराईको सेटिङ्गमा निर्माण भएको छ। संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेको चलचित्रमा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेका छन्।

रास्ट्रिय भाव समेटिएको चलचित्र ‘काँडेतार’ लाई नवल खड्काले निर्देशन गरेका छन्। नवलको साथमा मुरलीधर, प्रेम सुब्बा, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, परशुराम चौधरी, सञ्जय खतिवडा लगायतको अभिनय चलचित्रमा रहेको छ। नेपाल र भारतको खुला सिमानामा काँडेतार लगाउनु पर्ने संदेश चलचित्रले बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्