‘मनसरा’ ट्रेलर : अन्तरजातीय प्रेमको शंकाले निम्त्याएको पारिवारिक कलह


सफल चलचित्र ‘जारी’ टिमको नयाँ चलचित्र ‘मनसरा’ को ट्रेलर रिलिज भएको छ। उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्रको बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। दुई फरक समुदायको पात्रको कथा बोलेको चलचित्र ट्रेलर आकर्षक देखिएको छ। विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र उतारचढाव ट्रेलरमा प्रस्तुत गरिएको छ ।

पालामबाट सुरुवात भएको चलचित्रको ट्रेलरले दयाहाङ राई र मिरुना मगरबीचको प्रेम दर्शाएको छ। तर एक बस्तिमा छोरासंग बसिरहेकी मिरुना, ब्राम्हण प्रविन खतिवडाको आकर्षण र उनकी श्रीमती मेनुका प्रधानसंगको नोकझोकले ट्रेलरलाई सुन्दर बनाएको छ। एक दृश्यमा दयाहाङ सहरका पोलमा मिरुना हराएको सूचना टाँस्दै हिँडेका देख्न सकिन्छ ।

चलचित्रमा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, जीवन बराल, अनिल सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । शैलेन्द्र ध्वज कार्की चलचित्रको निर्माता र छायाँकार हुन् । विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा रहेको चलचित्रको कार्यकारी निर्मातामा सिजन दाहाल रहेका छन् । चलचित्र बैशाख २१ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्