कस्तो छ आर्यन, प्रदिप र पलको ‘पुजार सार्की’ गीत?


जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका छन्। यो गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसै गरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

यसअघि सार्वजनिक गीत ‘दर्शन गरेँ’लाई अत्यधिक रुचाइएको छ भने चलचित्रका पोस्टर र टिजरबाट दर्शक प्रतीक्षित बनेका छन्। यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन।

पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ। विकास सुवेदीले लेखन, सुवास भुषालको निर्माण रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्