‘फर्की फर्की’ र ‘पुजार सार्की’ को आक्रामक व्यापार, तीन दिन लाग्यो हलमा मेला


नेपाली चलचित्र क्षेत्रले जेठ १० गतेलाई निकै चासोको साथमा हेरेको थियो। बुद्ध जयन्तीको अवसर परेर बिहिबार सार्वजनिक बिदामा यो बर्ष कै नेपाली चलचित्र क्षेत्रको ठुलो क्ल्यासको रुपमा यो दिनलाई हेरिएको थियो। पछिल्लो पुस्ताका सर्वाधिक चर्चामा रहने स्टारहरुका चलचित्र एकसाथ रिलिज हुदै थिए। तीन भर्सेस एक स्टारको लडाईको रुपमा हेरिएको यो दिनको क्ल्यास सर्वाधिक सफल समेत बनेको छ। ‘फर्की फर्की’ र ‘पूजार सार्की’ दुई चलचित्र एकसाथ रिलिज भए। दुवै चलचित्रले हलमा दर्शकको मेला लगाउन सफल भए। आक्रामक ओपनिङ्ग गरेका दुवै चलचित्रले शनिबार हलमा झन् बढी दर्शकको मेला लगाए।

शनिबार बिहानैदेखि देशभरका हलमा अद्भुत दर्शकको क्रेज देखाएका दुवै चलचित्रले मध्यान्हबाट शतप्रतिशत अकुपेन्सी प्राप्त गरे। नेपाली चलचित्रका लागी यो ठुलो सफलता हो। दुई चलचित्र एकसाथ रिलिज हुँदा एक माथी र अर्को तल हुनु स्वभाविक हो। तर दुवै चलचित्र प्रति दर्शकको क्रेजले दुई चलचित्रलाई नै फाइदा पुग्यो। व्यवसायिक आंकडा सार्वजनिक नभएको कारण कुन चलचित्रले कति तल-माथीको व्यापार गर्ने यकिन छैन। तर दर्शकको क्रेज हेर्दा खासै भिन्न डाटा नहुने पक्का रहेको छ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पुजार सार्की’ हरेक उमेर समूह लक्षित चलचित्र हो। सोहि आकर्षण हलमा पनि देखिएको छ। आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको स्टारडम हलमा पुन: एकपटक प्रमाणित भएको छ ।

सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा युवा पुस्ताको आकर्षण बढी देखिएको छ। अनमोल केसीले आफ्नो सोलो स्टारडम हलमा प्रमाणित गरेका छन्। चलचित्र र अनमोल प्रति दर्शकको क्रेज अद्भुत देखिएको छ। उनी अभिनेत्री जसिता गुरुङ्ग र नव-नायक रवि काफ्ले संग हलमा पुग्दाको क्रेज लोभलाग्दो देखिएको छ।

दुवै चलचित्रको यो क्ल्यासमा नेपाली चलचित्र क्षेत्रको जीत भएको छ। नेपाली चलचित्र प्रति दर्शकले केहि महिना अगाडीबाट नै देखाएको साथ अद्भुत थियो । यी दुवै चलचित्रले त्यो प्रेम झन् बढी प्रमाणित गरेका छन्। अब आगामी दिनमा चलचित्रको व्यापार कस्तो रहने हो त्यसले यी दुवै चलचित्रको लाईफटाइम जीत निर्क्योल गर्नेछ।

प्रतिक्रिया दिनुहोस्