दीपक रौनियार निर्देशित ‘राजागंज’ टिजर, चैत्रमा रिलिज हुँदै चलचित्र
नेपाली चलचित्र दर्शकका लागी दिपक रौनियारले स्मरणयोग्य चलचित्र दिएका छन्। नेपाली देखि अन्तराष्ट्रिय चलचित्र बजारमा आफ्ना चलचित्रलाई पुर्याएका रौनियारको नयाँ चलचित्र ‘राजागंज’ (पूजा, सर)को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक टिजरले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसन र मधेशमा चर्किएको आन्दोलनलाई चित्रण गरेको छ ।

मधेशी र पहाडी दुई फरक समुदायको विवाह र त्यसपछि मधेश आन्दोलनको चपेटामा परेको उक्त परिवारको कथा चलचित्रले उठान गरेको आभास टीजरले दिन्छ। चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला चलचित्र महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । त्यहि भएरपनि यो चलचित्र दर्शकका लागी प्रतिक्षित बन्न सक्छ। टिजरले त्यो अपेक्षा झन् बढाएको छ।
चलचित्रमा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
आदि फिल्मसको तर्फबाट दीपक रौनियार र आशा मगराती, ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मसको तर्फबाट रामबाबु गुरुङ तथा तन्हाउसर गेटको तर्फबाट एलन आर मिलिगनले चलचित्रको निर्माणमा सहकार्य गरेका छन् । नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट आर्थिक सहयोग समेत प्राप्त गरेको चलचित्रको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप रहेका छन् । चलचित्र नेपालमा चैत्र १ गतेबाट रिलिज हुँदैछ।