‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको १०० दिन पार गर्यो
इतिहासका लागी धेरै यादगार पल दिएको चलचत्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको १०० दिन पार गरेको छ। कार्तिक १५ गते लक्ष्मीपूजाबाट रिलिज भएको चलचित्रले सबैभन्दा धेरै कमाउने चलचित्रसंगै यो बर्षको १०० दिन मनाउने पहिलो चलचित्र बनेको छ। १०० दिनको आंकडा आफैमा एतिहासिक हो। काठमाडौंको सामाखुसीस्थित क्यूएफएक्स चेनको सिटी स्क्वायर हल, रञ्जना सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, बुटवल र धरानको फ्रेन्ड्स सिनेमाजसहितका १० वटा हलमा चलचित्रले सय दिन मनाएको जनाइएको छ ।

प्रदर्शनको सय दिन मनाएको खुसीयालीमा निर्माताले सय रुपैयाँमा चलचित्र देखाउने घोषणा गरेका छन् । उक्त अफर माघ २७ गतेसम्म रहनेछ। निर्माता विनोद पौडेलले केहि दिन अगाडी चलचित्रको सफलताको खुशी साट्ने कार्यक्रमको आयोजना गर्दै ‘पूर्णबहादुरको सारङ्गी २’ निर्माणको घोषणा गरेका थिए ।
यो चलचित्रले नेपालमा ५० करोड नजिकको व्यापार गरेको अनुमान गरेको छ। विश्ववजार भरि ७२ करोड माथिको कलेक्सन गर्न चलचित्र सफल भएको छ ओभरसिज बजारमा मात्र २३ करोड माथीको व्यापार चलचित्रले गरेको अनुमान छ। विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, विनोद न्यौपाने लगायतको अभिनय रहेको चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो चलचित्रले विजय बरालको करियर नै मोडिएको छ। सह- अभिनेताबाट उनि आकर्षक पारिश्रमिक लिएर शिर्ष भूमिकामा काम गरिरहेका छन् ।