एन्जिलाको संघर्षको कथामा ‘अन्जिला’ टिजर
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को टिजर सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशित चलचित्रको टिजरले एन्जिलाले घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष देखि कप्तान बन्दा सम्मको कथा समेटेको छ।

टिजरमा यो एउटा सङ्घर्षशील सपना देख्नेहरूको कथा रहेको भनिएको छ भने रेडियोमा बजाइएको आवाजमार्फत ‘अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क एउटा विधा छ भने त्यो खेल नै हो’ भन्ने भाष्यलाई स्थापित गर्दै टिजर अघि बढाइएको छ । टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका माता पिताको भूमिकामा देखिएका छन् ।
चलचित्रका निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको सङ्घर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको जिकिर गरे । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।
यस चलचित्रको भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो भने हाल युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन् । यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । चलचित्र फागुन २९ गतेबाट रिलिज हुँदैछ।