लण्डनको २७ वटा हलमा सलोनको ‘रंगी’ प्रदर्शन हुने
नेपालमा गाफुं २ गतेबाट प्रदर्शन भएको चलचित्र ‘रंगी’ अब लन्डनमा प्रदर्शन हुने भएको छ। सलोन बस्नेतको पहिलो निर्माण रहेको चलचित्र आगामी मे ९ तारिख (बैशाख २६ गते) बाट लण्डनको २७ वटा हलमा प्रदर्शन हुन लागेको हो । महारानी प्रोडक्सनका विक्रम जोशीले चलचित्रलाई लण्डनमा वितरणको जिम्मा लिएका छन् । लन्डनमा चलचित्रको सेन्सर पास भैसकेको छ र बोर्डले पीजी सर्टिफिकेट दिएको छ।

गत महिना अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन गरिएको चलचित्र अझै केही देशमा प्रदर्शनको तयारीमा रहेको छ। बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा आधारित रहेर बनेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ । सुरेश न्यौपानेको निर्देशनमा तयार भएको चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी (बस्नेत) र अनिश गौतम निर्माता रहेका छन्। चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।