‘यो मन त मेरो नेपाली हो’ प्रिमियरमा कसले ले भने ?
यहि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रिमियर बुधबार सम्पन्न भएको छ। देशभक्ति भावनाको कथावस्तुमा आधारित यो चलचित्रको प्रिमियरमा चलचित्रकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रिमियरमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशकहरू तुलसी घिमिरे, अशोक शर्मा, राजेन्द्र सलभ, ऋषि लामिछाने, गायिका ज्योति मगर, सशस्त्र प्रहरीका महानिरीक्षक वंशीराज दाहाल, पत्रकार टीकाराम यात्री, गायक बद्री पगेनी, गायिका राधिका हमाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, पूर्व सभासद महेन्द्र लिम्बू लगायतको उपस्थिति रहेको थियो ।
निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताए । चलचित्रले अहिलेको पुस्तालाई नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको उनको भनाइ छ । निर्देशक अशोक शर्माले देशभक्ति कथावस्तुमा चलचित्र बनाउने आँट गर्नु नै ठूलो कुरा रहेको बताए । गायिका ज्योति मगरले हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै यसको विषयवस्तुको प्रशंसा गरिन् ।
मित्र प्रधान (नर) को निर्देशनमा तयार भएको चलचित्र विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय रहेको छ। ज्ञान बहादुर प्रधान (रोशन) को निर्माण चलचित्रमा रहेको छ ।