‘अभिमन्यु’ को भोजपुरी फ्लेवरको ‘लड्की गोरी’ गीतको चर्चा
चलचित्र ‘अभिमन्यु’को भोजपुरी फ्लेवरको ‘लड्की गोरी’ गीतले चर्चा पाएको छ । युट्युवमा ११ लाख बढी भ्युज पाएको गीतको प्रतिक्रिया पनि अब्बल रहेको छ। भोजपुरी शैलीको गीत छाडा हुन्छन् भन्ने भाष्यलाई पनि यो गीतले चिरेको छ र यो प्रतिक्रिया दर्शकबाट नै मिलिरहेको छ। “म खासै भोजपुरी गीत सुन्दिन । तर, यो अलि रिफ्रेसिङ रहेछ । मजा आयो । प्रेरणा सिङ र प्रशान्त सिवाकोटीको आवाज सारै मिठो । किरण श्रेष्ठको डान्स राम्रो,” तृष्णा घतानीले युट्युमा गीत हेरेर लेखेकी छन् ।

भोजपुरी फ्लेबर भए पनि गीत नेपालीमा छ । भोजपुरी लवजमा रहेको गीतको भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा बिलकुल फरक रहेकाले यसैलाई दर्शकले मन पराइरहेका छन् । भोजपुरी गीत भन्नबित्तिकै अलि छाडा हुन्छन् । तर, ‘लड्की गोरी त्यस्तो छैन । यसको पनि तारिफ भइरहेको छ । जीवन मल्ल गीत र भिडियो हेरेपछि कमेन्ट गर्छन्, “यो डान्स र अडियो बबाल छ । निड मोर एप्रिसिएसन । छाडा छैन, रमाइलो छ ।”
‘लड्की गोरी’ गीतमा लवज भोजपुरी भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा विल्कुलै फरक रहेकाले पनि गीतलाई दर्शकले मन पराएको देखिन्छ । कतिपयले यो गीतले गर्दा तराईबासी पनि चलचित्रमा जोडिन सक्ने सम्भावना औंल्याएका छन् । दर्शकबाट प्राप्त यस्ता प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ ।
उक्त गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठको नृत्य देख्न सकिन्छ । तराईको पात्र र कथामा आधारित भएर चलचित्र बनेकाले त्यही क्षेत्रमा प्रचलनमा रहेको भोजपुरी शैलीको गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ ।
सुशान्त गौतमको निर्देशनमा बनेको चलचित्रमा किरणसहित लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । मुकेश खनालको लेखन रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । चलचित्र भदौ २७ गतेबाट रिलिज हुँदैछ।