‘बलिदान’ को शिर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक


दशैँको फूलपाती असोज १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बलिदान’ को ओएसटी गीत सार्वजनिक गरिएको छ। सुजन चापागाईँको स्वर तथा सङ्गीतमा रहेको ‘यो ज्यान बलिदान’ गीतमा हर्क साउदको शब्द रहेको छ। लिरिकल शैलीमा रिलिज गरिएको गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।

गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रको लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। सन्तोष शेन निर्देशित चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्