‘परान’ को फर्स्टलुक पोस्टरमा महेश र अञ्जना
कार्तिक १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा तयार भएको चलचित्रको बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै रिलिज मितिको औपचारिक घोषणा समेत गरिएको हो। सार्वजनिक पोष्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ।

पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्। अञ्जनाको सिउँदोमा सिन्दुर रहेकोले दुवै श्रीमान श्रीमतीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ।
चलचित्रको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ।
गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले चलचित्र निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा ‘परान’ निर्माण गरिएको जानकारी बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले गराएका छन्।
चलचित्रमा महेश र अञ्जनासहित नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्।